• Tuesday, August 18, 2020

    बुवा

    बुवाको महत्त्व झल्काउनको निम्ति लेखिएको एक लेख ।

    Buwa-baba


    न केही शब्दले वर्णन नै गर्न सकिन्छ न त केही उपहारले भरपाई नै गर्न सकिन्छ तर पनि मलाई यस सुन्दर धरातलमा जन्म दिएर मलाई यो लेख लेख्नसम्म सक्षम बनाइदिनु भएकोमा मेरो बुबा आमा दुवै प्रति धन्यवाद व्यक्त गर्न चाहान्छु। 


    भर्खर कोमाको बिरामी होसमा आएर म को हुॅ, कहाॅ छु भनेर आफ्नो बारेमा केही कुरा थाहा नभएको व्यक्तिझैॅ जिन्दगी पाएको तर कहाॅ छु के गरेको छु थाहा नपाएर आफ्नो ढुकढुकी चलेछ है भनी रोएर संकेत दिदाॅ मेरी आमाको पीडालाई देखेर निस्किएको त्यो ऑशुमा खुशीको ऑशु मिसाउॅदै ढुक्कको सास फेर्नुभएको थियो, मेरो बुबाले ।

    तालु नभरिएको मेरो शिर तथा केही कुराले सजिलै असर पार्ने मेरो नाजुक शरीरलाई यस वातावरणसॅग लड्ने शक्तिको निर्माण गराई क्षमतावान् बनाइदिनुमा तपाईकै हात रहेको छ।

    मेरो तोतेबोली सुन्नको निम्ति आफ्नो कान सदैव टाठो बनाएर राख्ने त्यस कानले अहिले मेरो राम्रो कार्यलाई सुन्दै खुशी हुने तथा नराम्रो कार्य सुन्दा मलाई सम्झाएर राम्रो पथमा हिड्न सहायता गरेको देख्दा खुशी लाग्दछ। एक थप्पडलाई त्यागेर हजारौ सुझावलाई अंगालेर मलाई राम्रो मार्ग तर्फ लग्न कहिल्यै पछि पर्नु भएन।

    हामीलाई बाहिरी दुनियाॅ के हो भनी मुखले बुझाएर तर व्यवहारिक रूपमा सदैव बच्चा सोची आफ्नो हात-पाखुराले यस धर्ती चलाउने पैसालाई कमाउन सकिन्जेल आफ्नै सुरझित छाताको ओझेलमा राखिरहनु भएको थियो। जब व्यवहारिक रूपमा म अघि बढ्न चाहे त्यतिबेला आफ्नो मनमा केही हल्का डर भएपनि मभित्र आत्मविश्वास बढाउन सधै अघि नै रहनुभयो।

    मेरो इच्छा, जिद्दीपनलाई सदैव माथि राखेर ढिलोचाडो त्यसलाई आपुर्ति गरेर सरल बनेको मेरो जिन्दगीबाट मैले पाएको खुशीलाई नै आफ्नो खुशी सोचेर सधैॅ रमाइ रहनु हुन्थ्यो। कहिले मेरो जिद्दीपन इच्छा सोचमा मात्र सीमित रहने खाले हुन्थ्यो होला तर त्यस कुरालाई राम्ररी सम्झाई बुझाई गर्नु हुन्थ्यो।

    एक पटक नबुझ्दा अर्को पटक सम्झाएर तथा त्यति पनि नबुझे जति पटक सोध्दा पनि झर्को नमानी मेरा प्रश्नहरूको जवाफ दिएर तथा मेरा  जिज्ञासाहरू लाई सदैव बुझाईमा परिणत गरिदिनु भयो। मेरो विद्यालयको गुरू नभएपनि मलाई जिन्दगीको कयौॅ मोडमा चाहिने जीवनोपयोगी ज्ञान दिने गुरू बन्न कदापी पछि पर्नुभएन।

    प्राकृतिक रूपमा पिडा सहनु नपरेपनि म जन्मिने अड्कल पाएको क्षण देखि लिएर आजसम्म मेरा हरेक कुरा, ईच्छा आदि ईत्यादि पूरा गर्दै जतिसुकै पिडा भएपनि बाहिरी दुनियाॅमा आफ्नो ज्यान, नङ्ग्रा खियाएर म लगायत यस परिवारका सम्पूर्ण सदस्यलाई सधैॅ आफ्नो एक सुरक्षित छाता भित्र ओझेल दिएर घाम-पानी दुःख-पिडाको दुनियाॅमा आफू रमाएर मलाई खुशीको माहोल मिलाइदिनु भएकोमा हजुरलाई धन्यवाद दिन चाहान्छु, बुवा ।

    कालो रङ्गको कपाल रहॅदा हजुरको काखमा बसेको मेरो फोटो देखिरहने म आजकल कही कतै रहेको हजुरको फुलेको कपालको साथ म हजुरको नाति देख्दा उसको भविष्य निकै उज्यालो रहेको महसुस गर्दछु। हुर्कदै उमेरसॅग हजुरबाट पाएको त्यो गाली तथा सम्झाई रूपी ज्ञान बल्ल राम्ररी बुझ्दै छु।

    काॅचो करेला रूपी जिन्दगीको तितो यथार्थलाई मरमसला रूपी हजुरको बुझाउने शैलीले मीठो बनाएर मलाई आर्जन गर्न दिनु भएका ती ज्ञानहरू सधैॅ आउने पुस्ताहरू माझ पनि जीवन्त राख्ने कोशिस गर्नेछु । हजुरजस्तै असल बुबा बन्न सकुला नसकुला तर हजुर जसरी बुबाको कर्तव्य पूरा गर्न कहिल्यै पछि हट्ने छैन।

    सानो छॅदाको मेरो ईच्छाहरूले ल्याएको मेरो रूवाईलाई खुशीमा परिणत गर्न कहिल्यै पछि नपर्नु भएको तथा मेरो जिन्दगीको हरेक गोरेटोमा मलाई सल्लाह सुझाव दिएर अघि बढ्न प्रेरणा दिने मेरो बुबालाई बुबा औंशीको शुभकामना ! 

    फिनु

    Author & Editor

    नाम त जे राखे पनि भयो नि। आखिर नाम चिनिने त आफ्नो कर्मले हो। नाम जे सुकै होस् जे जसो राखियोस् कर्म राम्रो हुनपर्छ। त्यसैले आफ्नो वास्तविक नाम एक भएपनि आफ्नो रचना पोस्ट्याउने नाम अर्कै राखेको छु। मेरो रचना पढेर कस्तो लाग्छ कृपया रियाक्ट, कमेन्ट, सेयर गरेर प्रतिकृया दिनुहोला। धन्यवाद!

    White

    Author & Editor

    Feelings doesn't need to be grammatically corrected. Just try to understand the emotions of the writings. I'm here trying to put up people emotions/thoughts through words. Enjoy it. Thankyou !

    1 comments: